Thursday, April 10, 2008

नेताप्रसाद गाउँ फर्के

लेखकः उही कुमार लामा
२२ चैत २०६४

मेरो घरको तल खरीको रुख छ
ठूलाघरे माइलाको सुरक्षार्थ त्यहाँ
मानिस झुण्ड्याएको अझै दुख्छ।
त्यहीँ रुखमुनि एक जादुगर आउँछ
ठूल-ठूलो स्वरले फुटानी लडाउँछ
को रहेछ ऊ? खुल्दुली सल्बलाउँछ
चिन्नै पर्‍यो नि, नकाव खोलिन्छ।
ज्या! ऊ त हाम्रै गाउँको नेत्रे पो!
शहरको नाउँ नेताप्रसाद
अशान्तिले शहरमै रोकिएर
वर्षौंपछि गाउँ फर्किएको।
उहिले पाडोमाथि, अहिले प्राडोमाथि
उहिले सुकुलमा, अहिले सुकला
जादूगरको बिछट्टै कला।
यता गाऊँमा कान्छीमाया बितिन्
नपाएर एक पुरिया जीवनजल
उता शहरमा नेताप्रसादले पिए
कमिशन र सुत्केरीले पिउने झोल।
पेट भरिएन, बेचे पजेरो र पासपोर्ट
अझ भरिएन, आफैँलाई बेचिदिए
आफ्नो चोलै फेरेर बोका बनी
च-माले र देउडा नाच्ने होडमा
बोकाको दाम त करोडै थियो।
जसरी जनतालाई भोक छ
त्यसैगरी नेताप्रसादलाई प्यास छ
मेटाउनलाई स्कचले मात्रै नपुग्ने
पिउनुपर्ने बारका निर्वस्त्र नर्तकीहरू
चपाउँदै हरिणको सीतन्‌
दुर्लभ जन्तु भो त केको टन-टन्?
जनताको लागि जनताकै नाममा
जनताको रगतले, जनताकै दाममा
दिल्ली गएर फेरे कुहिएको मृगौला
भने नेताप्रसादले, लोकतन्त्र बच्यो
त्यसैले लोकतन्त्र— जिन्दावाद!
शहरमा आलिशान महल
गमक्क नेताप्रसादका वरिपरि
घुम्छन् जग्गा र मान्छे दलाल
अघि-पछि छन् गर्नेहरू मानव-हलाल
छिमेकमा पानीको अभावले कोलाहल
प्रदूषण रोग, भोक र शोकले बबाल।
तैपनि खोजी भइरहे छ निकास
ठोकतन्त्र र भोकतन्त्रको भूमरिमा
निकास कहिले कहाँ फेला पर्ने हो
जहाँ देशै छिन-छिनमा बन्द हुन्छ।
नेताप्रसादको क्लिशे सुनिन्छ
के हुन्न यहाँ? सबै थोक हुन्छ
एकपल्ट फेरि जिताएर त हेर!
संघीयता अनि गणतन्त्र
समाजवाद अनि लोकतन्त्र
बन्छ-बन्छ यसपालि नयाँ नेपाल।
नेताप्रसादको आदत त उही हो—
देशी-विदेशी मन्त्र, नोट र भोट पाएपछि
रोग, भोक र शोक होइन
सके विरोधीको उन्मूलन गरिदिने।
(संविधानसभाको निर्वाचनमा स्वच्छ छवी भएका उम्मेद्‌वारहरूलाई मात्र जिताउने आग्रहका साथ साढे २ सय वर्षे शाही दाशताबाट मुक्तिका लागि जीवन गुमाउने सम्पूर्ण वीर शहिद तथा तिनका परिवारहरूमा समर्पित)

No comments: