लेखकः स्वयंम्बर िसंह लामा
शरद ऋत्यूको मिरमिरे बिहान थियो । पूर्वको आकाशमा लाली छाउनु नपाउँदै अन्नपूर्ण र माछापुछ्रेले आफ्नो अनुहारै भरि लाली पोत्दै फोटो खिची दिन हामी तिर फर्केर ङिच्च हाँसी रहेका थिए । हामी भने कठाङगि्रएको पानी छुन डराएर सिरक भित्र बाट टाउको निकाली उनीहरुलाई झ्याल बाट चियाउदै जिस्की रहेका थियौं ।
अन्नपूर्ण होटेलको पवित्रा दिदीले ु ए भाई हो छिट्टो उठ तिमीहरुको साँढेहरु अघि नै गई सके डोको भन्दा नि ठुल्ठुला क्यामराहरु बोकेरु भने पछि हामीलाई पनि उठ्न करै लाग्यो । न भन्दै हाम्रा पर्यटकहरु कोदोबारीको आलीमा तीन खुट्टे स्ट्याण्डमा क्यामरा राखेर दुर्लभ दृष्यहरुलाई मनपरी पोको पार्दै थिए । पारी माछापुछ्रे र वारी अन्नपूर्ण विवाहको मण्डपमा सजिएकी दुलही जस्तो देखिन्थे भने वरिपरिका अन्य हिमचुलीहरु जन्ती संगैको दुलाहा जस्तै देखिन्थे ।
बाहिर रङ्गीचङ्गी फुलहरु हिमालको चिसो हावा संगै सो-ह बर्षे वैशमा उनमात थिए । जति जति सूर्योदयको उज्यालो थप्दै गयो त्यति त्यति आफ्नो वैश छिपिएको संकेत िदंदै जाँदो रहेछ हिमचुलीहरुले पनि । लालीमय टाकुराहरु हेर्दा हेर्दै आँखाले हेर्नै नसक्ने गरि सेतो रंगमा टल्किँदै गयो । लम्जुङ हिमाल माछापुछ्रे गंगापूर्ण हिमचुली अन्नपुर्ण वरिपरि हिमालै हिमालले घेरिएको थियो घान्द्रुकलाई । जता हे-यो त्यतै लोभ लाग्दो रमाईलो एक दिनको समय हामीलाई अपुग भै रहेको थियो ।
समुद्र सतह देखि एक हजार नौ सयको उचाईमा रहेको कास्कीको घान्द्रुक गाउँ वास्तवमै एउटा स्वर्गको टुव्रुा जस्तै रहेछ । आधुनिक घरहरु र आधुनिक भौतिक संरचनाको होडबाजी संगै अझै गुरुङ सभ्यतालाई बाचई राख्न सफल त्यस गाउँमा पुगेर नरमाउने सायद कोहि नहोला । गुरुङ कला संस्कृतीको धनी गाउँ घान्द्रुक पुगे पछि त्यतै बसाई सराउँ कि जस्तो लाग्दो रहेछ । पीँधमा माछापुछ्रे र अन्नपुर्ण बाट हिउँ पग्लेर आएको चिसो पानीको मोदी खोला सौदर्य भित्रको शुन्यतालाई चिर्दै सुसाई रहेको थियो ।
मोदी पारीको लान्द्रुक गाउँका घर-गोठहरु हरियो चौरमा थुप्रेर बसेका च्यांग्राको बथान जस्तो लाग्थ्यो । त्यस गाउँ भन्दा धेरै माथी छितिजको उचाईमा टाडापानी जाँदाको बिसाउनी भैंसी खर्क उत्तरमा छुमरोङ अनि झिनोडाँडाका गुझुमुज्झ परेको गाउँहरु सृष्टिकाल देखि नै त्यस्तै थियो कि जस्तो लाग्थ्यो ।
बिहानी चीसो शीतको पर्वाह नगरि कोदो बारीको छेउ छेउमा फुलेको सयपत्रीको फुलहरुलाई पन्छाउँदै हामी पनि दृष्यावलोकन गर्न गयौं । त्यति बेला सम्ममा बिहानको सात बजि सकेको रहेछ । हामीलाई त्यस दिन पोथना सम्म जानु थियो । तर पनि घान्द्रुकलाई छाडेर जाने मन पनि लागि रहेको थिएन । अघिल्लो दिन घोरेपानी बाट रात परेर आईपुगेको हुँदा केहि हेर्न भ्याएका थिएनौ । दिउँसै आईपुगेको भए पनि दिउँसो र बिहानको दृष्यमा फरक हुने रहेछ ।
विहानको ताजा शीतमा प्रकृतीका सबै प्राणी र वनस्पतिहरु पनि सबै जुर्मुराउँदो रहेछन् । राती हामी ओरालो झर्दा निदाई रहेका लज्जावति झार पनि शीरमा गुलावी फुल सिउँरेर तरुनी भैरहेको पायौं । हामी दश बजे सम्म त्यहिँ बस्ने निधो ग-यौं । धेरै लामो ईतिहास बोकेको त्यस बस्तीको वरिपरि बाग्लो जंगल थियो । जंगलको बीच बाट कलकल आवाज निकाल्दै स-साना खोल्साहरु मोदी खोला संग मीत लाउन हतारिँदै ओरालो लागीरहेका जस्तो देखिन्थे ।
त्यहाँ बसेर प्रकृतीको रमिता हेर्दाहेर्दै एकैक्षणमा हतारमा निस्केको जन्तीको लाम जस्तो रंङ्गीचङ्गी पहिरनमा आ-आफ्नो भाँती र भाकामा गीत गाउँदै तरुनी र तन्नेरीहरु जंगलतिर घाँस दाउरा खोज्ने दैनिकीमा ओईरिए । आहा ! कति फरासिलो मीठो वचनवोलीका हुँदा रहेछन् त्यहाँका बासिन्दा जो संग पनि हाँसेर बोल्ने उज्यालो अनुहार आत्मा सन्तुष्टीको कथा बोकेको भाव । मान सम्मान र ईज्जत्को धनी बास्तवमै प्रकृतिको वरदान जस्तै लाग्यो ।
अझै हामीले गुरुङ संग्राहलय घुम्न बाँकी नै थियो । हाम्रा १३ जना पर्यटक सहित हामी सबै कोदो बारीको कान्लै कान्ला हुँदै गुरुङ संग्राहलय पुग्यौं । सेतो माटोले पोतेको संग्रहलय चिटिक्क परेको गुरुङ परम्पराको घरमा सजाएको थियो ।
बैदेशिक रोजगारको लागि अमेरिका जापान ब्रुनाई िसंगापोर युके लगायत अति विकसित राष्ट्रहरुमा गएर आएका घान्द्रुकका बासीन्दाहरु मनग्गे आयआर्जन पश्चात सुविधायूक्त शहर बजार तर्फ केन्द्रित् हुने र बाँकी त्यहि गाउँमै बसि हुर्कदै गरेका र भावी पिडीहरु बाह्य पर्यटकहरु संग प्रत्यक्ष सम्बन्ध हुने भएकोले दिन प्रतिदिन त्यहाँको गुरुङ जातीको संस्कृती पश्चिमा सैलीमा ढल्किदै गएको छ । हो जुन सुकै कुराको विकास हुनु राम्रो पक्ष हो । तर हामी आधुनिक मान्छे हौं भन्दै पुरानो परंपरालाई उखलेर नयाँ संस्कारको जरा पलाउन दिनु आफ्नो पहिचान गुमाउनु हो र अर्काको पहिचानमा टेवा दिनु र समर्थन गर्नु हो ।
हामी समय संग हिड्नु पर्छ । समयको गति संगै आउने नयाँ नयाँ प्रविधि र विकासको उपयोग गर्नु पर्छ । त्यसको साथै हामीले हाम्रो चिनारी पनि संगै बोकेर हिड्नु पर्छ । नयाँ लुगा लाएर पुरानो लुगालाई बाटो मुन्तीर मिल्काए जस्तो नयाँ प्रविधि र संस्कार संगै आफ्नो कला संस्कृती र परंपरालाई दाग बत्ति दिनु हुँदैन । यसो गर्नु घान्द्रुक बासी गुरुङ जातीको मात्रै कर्तव्य नभएर हामी सारा संस्कृती प्रेमी नेपालीको कर्तव्य भित्र पर्न आउछ । आशा गरौं भोलीका दिनहरुमा घान्द्रुकबासी गुरुङहरुको संस्कृती त्यहि सानो संग्राहलयमा मात्रै सिमित नहोस् ।
उक्त संग्राहलय हेर्दा आधुनिक पश्चिमा संस्कृतीले नराम्रो संग च्यापेका घान्द्रुकबासीको आफ्नो गुरुङ कला संस्कृती तथा परम्परा प्रतिको प्रगाढ प्रेम देखि मेरो शीर श्रद्धाले झुक्यो । त्यस दिन देउराली देखि पोथना बीचको जंगलमा पुग्दा घाम पश्चिम तिर ढल्की सकेको थियो । चिलाउने घारीको बीच बाट छड्के रंगीन किरण हानेर हामीलाई गोधुलीको रङ्गले रंगाउन खोज्दै थियो । गाई भैंसीहरु ट्वाङ ट्वाङ एक नासे घन्टी हल्लाउँदै गाउँ फर्कने बाटो पकि्रँदै थिए । चराचुरुङ्गीहरु त्यस दिनकाृ अन्तिम चिरबिरी सुनाउदै बासस्थान तिर लाग्दै थिए । त्यस क्षणको प्राकृतिक सौदर्यले पनि हामीलाई थप मदहोशीको घाईते बनाए । त्यस दिन हामी अबेर गरेर लान्द्रुक टोल्खा भेँडीखर्क हुँदै प्राकृतिक सौदर्यका धनी पोथना सम्म बास बस्न पुग्यौं । भोली पल्ट विहानैको झुल्के संगै धम्पुस फेदी ह्याङजा हुँदै कान्तीपुर होटेल पोखरामा पुगेर हाम्रो यात्रामा पूर्ण विराम लगायौं ।
-लेखक आप्रवासी तामाङ समाज कतार संग आबद्ध छन् ।
No comments:
Post a Comment