लेखकः दीपक खड्का
आँधीसँग मीत लगाएँ, आगो मन पराएँनिदाएको बस्तीबाट सुटुक्क म हराएँ
आरामदायी बिस्तरामा नसुतेको होईन
तर भन्छन् – म अक्सर सपनामा कराएँ
संक्षिप्त बसन्तमा फूल फूलेको देखेको हो
हुनसक्छ सदाबहार काढाँसँग डराएँ
केही आस्था, केही आशा – सहयात्रा यै त हो
कसैको बाजी लगाएँ, कोही राजी गराएँ
धर्म छाडेका पाईलाले अझै छैनन् मेरा
यत्ति हो यो भीरमा हिड्दा किञ्चित धर्मराएँ
धैर्य नगुमा "दीपु", सुन खाग योद्दाको कथन
सङ्ग्राममा हारियो तर यूद्दमा हराएँ
4 comments:
अम्बिका जी ,
अक्सर तपाईंको यस ब्लगमा पस्ने म केहिदिन यता पसेको थिईनं । आज पसेको थिएं र थाहा पाएं तपाईंले मेरो नाम लेखेर अरु नै कसैको गजल राख्नु भएको रहेछ । ' आँधीसंग मित लाएं , आगो मन पराएं ' यो गजल मैले लेखेको नभएर दीपक खड्काजीले लेख्नु भएको हो । त्यसैले यथासक्य चाँडो यसलाई सच्याउनुहोला अनि अर्कोकुरा यसरी रचनाहरु ब्लगमा राख्दा कस्को रचना हो भनेर पत्ता लगाएर सकेसम्म ईमेलमा सम्पर्क गरेर सोधेर मात्र राख्नुहोला त्यसोगर्दा यस्तो गल्ती हुन जाँदैन । यहाँ त कसैले देख्दा मैले अर्काको गजल चोरेर तपाईंलाई पठाएको जस्तो देखिएको छ । जहाँसम्म मलाई लाग्छ तपाईं मबिजीले शुरु गर्नुभएको गजलग्रुपमा समेत हुनुहुन्छ त्यसैले यो कुरा त्याँहा खुलाईदिनुहुनेछ भन्ने आशा पनि गर्छु र यो कमेण्टलाई पनि जस्ताको तस्तै राख्नुहुनेछ भन्ने आशा गर्छु ।
ब्लगर ज्यु , ब्लगमा प्रवेश नै गर्नुभएको छैन कि ? किन हो मैले यो गजल मेरो हैन नाम हटाईपाउँ भन्दा पनि अझै हटाउनु भएको छैन । यहाँ प्रवेश गर्नुहुने सबैलाई स्पस्ट पारुँ कि मैले अहिले सम्म यो ब्लगलाई आफ्नो रचना पठाएको छैन । यो त बद्नाम गर्ने नियतले गरे झैं देखिन आएको छ । भ्रम नहोस् ।
दीपक दाई नमस्कार,
मेरो गल्तीको लागि म अन्तरहृदय देखि नै माफि चाहन्छु । मैले मेरो ब्लगमा लेख रचाना समाबेस गर्नुको अभिप्राय कसैको बदनाम गर्नु थिएन तर मेरो नै आफ्नो कमजोरीले ठानेकी छु । म पनि गजल समुहमा प्रबेश गरेदेखि समय मिलाएर कुनै कुनै लेख रचनाहरु समेट्न खोज्दा यसो हुन गएको हो । सल्लाह र सुझाको लागि पुन धन्यवाद, आउँदा दिनहरुमा अबश्य पनि यस्ता गल्तीहरु दोहोरिने छैनन् भन्नेकुरा विश्वस्त गराउन चाहन्छु ।
अम्बिका गिरी
अम्बिका जी ,
पक्कै त्यो गल्ति भएको हो भन्ने त मलाई लागेकै हो तर पनि ब्लगमै कमेण्ट लेख्दा सम्म तपाईंको कुनै रेन्पोन्स नदेखेकोले छक्क लागेको मात्र हो । यति कुरामा तपाईंको मन दुखाएको भए माफी पाउँ । ढिलै भएपनि रेस्पोन्स देख्दा र जस्को रचनाको उसको नाम देख्दा खुशी लागेको छ ।
Post a Comment